वीरगंजमा नवनिर्वाचित सांसदहरूको स्वागत
वीरगंज २९ फागुण ।
पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित बुद्धि प्रसाद पन्त (हरि पन्त) र पर्सा क्षेत्र नं. ४ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य टेक बहादुर शाक्यलाई वीरगंजमा स्वागत तथा सम्मान गरिएको छ ।
होटल तथा पर्यटन व्यवसायी संघ वीरगंज पर्सा, होटल व्यवसायी संघ पर्सा तथा होटल संघ नेपाल मधेश प्रदेशले संयुक्त रुपमा वीरगंजमा आयोजना गरेको कार्यक्रममा नवनिर्वाचित सांसदद्वयलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै स्वागत गरिएको हो ।
कार्यक्रममा बोल्दै पर्सा क्षेत्र नं. १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य बुद्धि प्रसाद पन्तले पर्सा जिल्लाको समग्र विकास, विशेषगरी पर्यटन तथा होटल व्यवसायको प्रवर्द्धनका लागि आफूले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्रसँग सहकार्य गर्दै वीरगंजलाई पर्यटन र व्यापारिक केन्द्रका रूपमा थप सशक्त बनाउने लक्ष्य रहेको बताउनुभयो ।
यसैगरी पर्सा क्षेत्र नं. ४ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य टेक बहादुर शाक्यले व्यवसायी समुदायले राखेका अपेक्षालाई सम्मान गर्दै पर्यटन क्षेत्रको विकास र व्यवसायी मैत्री वातावरण निर्माणका लागि पहल गर्ने बताउनुभयो ।
त्यसैगरी वीरगंज उद्योग वाणिज्य संघका पर्यटन समितिका संयोजक अनोज रुंगटाले वीरगंजको पर्यटन, होटल तथा सेवा क्षेत्रलाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउन राज्यको सहयोग आवश्यक रहेको बताउनुभयो ।
होटल संघ नेपाल मधेश प्रदेशका अध्यक्ष सुरेन्द्रलाल श्रेष्ठले मधेश प्रदेशमा पर्यटन क्षेत्रको सम्भावना धेरै रहेको उल्लेख गर्दै यसको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रमको सहजीकरण होटल संघ नेपाल मधेश प्रदेशका बरिष्ठ उपाध्यक्ष मोहन प्रधानले गर्नुभएको थियो । कार्यक्रममा होटल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायी, उद्योगी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
बरिष्ठ होटल व्यवसायी पशुपति विक्रम शाहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।














