वीरगंज, ४ पुस । वीरगंज महानगरपालिका वडा नं. १८ स्थित भवानीपुरमा आजदेखि बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । सुरक्षित मातृत्व सेवा प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थापना गरिएको उक्त बर्थिङ सेन्टरको महानगर प्रमुख राजेशमान सिंहले एक कार्यक्रमकाबीच उद्घाटन गर्दै सेवा शुभारम्भ गर्नुभएको हो ।
उद्घाटन समारोहमा बोल्नुहुँदै महानगर प्रमुख सिंहले बजार क्षेत्रमा मात्र नभई ग्रामीण भेगका बासिन्दालाई समेत सहज र सुरक्षित प्रसूती सेवा उपलब्ध गराउने लक्ष्यका साथ बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य संस्थामै प्रसूती गराउन प्रोत्साहन गर्नु मातृ तथा शिशु मृत्युदर घटाउने प्रभावकारी उपाय भएको उल्लेख गर्नुभयो ।
‘ग्रामीण क्षेत्रका गर्भवती महिलाले सामान्य प्रसूती सेवाका लागि पनि शहर धाउनुपर्ने बाध्यता हटाउन गाउँमै बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको हो,’ प्रमुख सिंहले भन्नुभयो, ‘यसले स्थानीय महिलालाई समयमै र सुरक्षित सेवा प्राप्त गर्न ठूलो सहयोग पुग्नेछ ।’
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापनसहित बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले यस केन्द्रबाट स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी वडा नं. १८ का वडा अध्यक्ष उमाशंकर तिवारीले बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै वडामै सामान्य प्रसूती सेवा उपलब्ध हुने र यसले स्थानीय नागरिकलाई ठूलो सहजता ल्याएको बताउनुभयो ।
‘यसअघि गाउँघरमा सुत्केरी ब्यथा लागेपछि रातबिरात वीरगंज लैजानुपर्ने बाध्यता थियो,’ उहाँले भन्नुभयो, ‘राति एम्बुलेन्स खोजेर गर्भवती महिलालाई अस्पताल पु-याउनु निकै कठिन हुन्थ्यो । अब वडामै बर्थिङ सेन्टर सञ्चालनमा आएपछि यस समस्याबाट ठूलो हदसम्म छुटकारा मिल्नेछ ।’
आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन पूरा भएपछि आजबाट बर्थिङ सेन्टर औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो । सेन्टरमा प्रि–डेलिभरी कक्ष, पोस्ट–डेलिभरी कक्ष, जाँच कक्ष, ड्रेसिङ रुम, प्रयोगशाला (ल्याब), स्टोर, प्रशासनिक कक्ष तथा शौचालयको छुट्टाछुट्टै व्यवस्था गरिएको छ ।
यसअघि नै वीरगंज महानगरपालिकाले वडा नं. २१ लिपनीविर्ता र वडा नं. २८ बगहीमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइसकेको छ । वडा नं. २८ मा रहेको बगही स्वास्थ्य केन्द्रमा २ जना विशेषज्ञ चिकित्सकसहित प्रसूती तथा बाह्य रोग (ओपीडी) सेवा २४ सै घण्टा प्रवाह हुने गरी स्तरोन्नति भइसकेको छ ।
वीरगंज बजार क्षेत्रमा भने नारायणी अस्पताल लगायत विभिन्न निजी अस्पताल तथा क्लिनिकहरूले विशेषज्ञ चिकित्सकमार्फत प्रसूती सेवा प्रदान गर्दै आएका छन् । महानगरपालिकाले शहरसँगै ग्रामीण क्षेत्रको स्वास्थ्य सेवालाई सन्तुलित रूपमा विस्तार गर्दै लगेको हो ।














