वीरगंज १३ साउन । वीरगंजको मुख्य सडक विस्तारविरूद्ध परेको रिटको सुनुवाइ सर्वाेच्च अदालतमा मंगलवार पनि हुन सकेन । ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको वीरगंजको सडक विस्तारविरुद्ध परेको रीट पटक–पटक सर्दै आएको छ । त्रिभुवन राजपथअन्तर्गत पर्ने वीरगंजको मुख्य सडक आदर्शनगरदेखि मितेरीपुलसम्मको घरजग्गा धनीहरुले सर्वाेच्च अदालतमा उत्प्रेषणको परमादेश माग गर्दै रिट दायर गरेका थिए । यसअघि साउन ७ गते बुधवार भएको छलफलमा आजका लागि पेसी तोकिएको थियो । कानुनी सल्लाहकार कमल मोहन पोखरेलले मुद्दा मंगलवार पनि ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको जानकारी दिए । शिवजी कलवार, सुशीला देवी रौनियार, मनोती देवी रौनियार, चन्द्रनारायण सिंह, राजकिशोर गुप्ता, गोविन्द प्रसाद अग्रवाल, राजेशकुमार रौनियार लगायतले असार ३२ गते सर्वाेच्च अदालतमा उत्प्रेषण मुद्दा दर्ता गराएका थिए । असार ३२ गते दायर उत्प्रेषण रिटमा साउन ५ गते सोमवार सर्वाेच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानले आदेश गर्दै मुद्दाको सन्दर्भमा छलफल गर्न साउन ७ गते बुधवार तोकेको थियो । त्यस दिन पनि छलफल हुन नसकेपछि साउन १३ गते (आज)का लागि तोकिएको थियो । यसअघि परेको सडक विस्तार विरूद्धको सबै रिट भने सर्वाेच्च अदालतले खारेज गरिदिएको छ ।