वीरगंज, ४ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थीहरूले तालाबन्दी गर्दै क्याम्पस प्रमुख र शिक्षकलाई कार्यकक्षमा थुनेका छन् । फर्जी भर्ना प्रकरणको विषयलाई लिएर आक्रोशित विद्यार्थीहरूले आइतवार क्याम्पस परिसरमा विरोध प्रदर्शन गरेका हुन् । लामो समयदेखि फर्जी भर्ना सम्बन्धी गम्भीर आरोप लगाउँँदै आएका विद्यार्थीहरूले प्रशासनले सुनुवाइ नगरेको भन्दै आज क्याम्पस प्रमुखसहित केही शिक्षकलाई कार्यकक्षमै थुनेर विरोध जनाएका हुन । क्याम्पस प्रशासनले हजारौं रुपियाँ असुलेर नक्कली कागजातमार्फत केही विद्यार्थीको अवैध रूपमा भर्ना गरिएको उनीहरुले आरोप लगाएका छन् । अनियमितता बारेमा पटक–पटक उजुरी, प्रमाण र सार्वजनिक ध्यानाकर्षण गराउँदा समेत क्याम्पस प्रशासनले कुनै छानबिन नगरेको उनीहरूको आरोप छ । प्रदर्शनका क्रममा स्वतन्त्र युवा समूहका श्याम प्रसाद गुप्ता, समाजवादी विद्यार्थी युनियनका सागिर आलम र अखिल क्रान्तिकारीका अनिस पटेललाई प्रहरीले पक्राउ गरेको छ । विद्यार्थी संगठनहरू, राजनीतिक युवा मोर्चाहरू र नागरिक समाजका केही प्रतिनिधिहरूले घटनाको चासो लिँदै निष्पक्ष छानबिनको माग गरेका छन् । क्याम्पस प्रशासन भने घटनाप्रति मौन देखिएको छ । प्रमुखको कार्यकक्षमा थुनिएका केही शिक्षक तथा कर्मचारीलाई प्रहरीले उद्धार गरेको थियो ।