-जनउत्तरदायी पत्रिका-

२०८२ असार १७. मंगलवार

जीवन र निर्जीवन बिमाबीचको भिन्नता र महत्व

४ माघ २०८१, शुक्रबार

बिमा गर्ने सोचमा हुनुहुन्छ भने पहिले थाहा पाउनुहोस्– बिमा भनेको के हो र यसका प्रकारहरु । बिमाले व्यक्तिगत तथा सम्पत्ति सुरक्षा सुनिश्चित गर्दै आर्थिक स्थिरता प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दछ। बिमालाई मुख्यतः दुई प्रकारमा विभाजित गरिएको छ– जीवन बिमा र निर्जीवन बिमा । मानिसको जीवनमा आउने जोखिमबाट बच्न गरिने बिमा नै जीवन बिमा हो । मानिसको जीवनमा आइपर्ने जोखिमबाट कुनै क्षति पुगे वा मृत्यु भएमा बिमाले सो बापत आर्थिक क्षतिपूर्ति दिन्छ । यसले बिमा गर्ने व्यक्तिको परिवारको भविष्य सुरक्षित गर्दछ।

२०७२ सालको भुँइचालोमा मानवीय र भौतिक क्षति धेरै भयो । हरेक वर्ष बाढी–पहिरोले हामीले अनुमान गरेभन्दा बढी क्षति पुयाउने गरेको छ। व्यापार, व्यवसाय, उद्योगधन्दा, सम्पत्तिमा विभिन्न किसिमका प्राकृतिक तथा मानवीय कारणबाट आर्थिक क्षति हुन्छ । प्राकृतिक प्रकोपलाई त हामी कसैले रोक्न सक्दैनौँ तर सुरक्षित भने अवश्य हुनसक्छौं । यी सबैबाट सुरक्षित हुने भनेको बिमा गरेर हो । निर्जीवन बिमा भनेकै सम्पत्ति तथा वस्तुमा हुने विभिन्न प्रकारको जोखिमहरु, भवितव्य तथा दुर्घटनाबाट सिर्जित आर्थिक क्षतिको रक्षा गर्नु हो।

हाल नेपालमा १४ वटा जीवन बिमा र १४ वटा नै निर्जीवन बिमा कम्पनी रहेका छन् । नेपालमा लोकप्रिय जीवन बिमाहरुमा टर्म इन्स्योरेन्स, होल लाइफ इन्स्योरेन्स, एन्डोमेन्ट प्लान्स र युनिट लिंक्ड इन्स्योरेन्स प्लान्स रहेका छन् । जीवन बिमाअन्तर्गत बिमा गर्ने व्यक्तिको मृत्यु भएमा वा बिमाको मिति समाप्त भएपछि एकमुष्ट रकम प्रदान गरिन्छ, जसले परिवारलाई आर्थिक स्थायित्व दिन्छ।

नेपालका पुराना निर्जीवन बिमा कम्पनीहरुमध्ये एक हिमालयन एभरेस्ट इन्स्योरेन्स (एचईआई) लाई लिन सकिन्छ, जसले व्यक्ति र व्यवसायहरुको आवश्यकताहरु पूरा गर्नका लागि विभिन्न निर्जीवन बिमाका सेवाहरु उपलब्ध गराउँदै आएको छ। निर्जीवन बिमाले सम्पत्ति र सञ्चालनहरुको सुरक्षा गर्दछ । जस्तै– सवारीसाधनको बिमा, सम्पत्ति बिमा, कृषि बिमा, मरिन कार्गो बिमा गर्न सकिन्छ ।

नेपाल प्रहरीको आर्थिक वर्ष २०८१-८२ को तथ्याङ्कअनुसार नेपालमा दैनिक ९७ वटा सडक दुर्घटना हुने गरेका छन् । ती घटनामा दैनिक औसतमा ८८ जना सडक दुर्घटनामा परी घाइते हुने गरेका छन् । सवारीसाधन बिमा गरे यस्ता जोखिमबाट वित्तीय सुरक्षा लिन सकिन्छ । यसले सवारीसाधनका मालिकहरुलाई ढुक्कको महसुस गराउँछ ।

असार–साउनमा हामी बाढी–पहिरोबाट आक्रान्त हुन्छौं । गत असोजमा गएको बाढी र पहिरोले १७ अर्बभन्दा बढीको क्षति भयो। घर ढले, बस्ती बगे । अनि मुख्य चाडबाड आउँछ, चोरीका घटनाहरु बढ्छन् । गत दशैँको अविधभर काठमाडौं उपत्यकामा ११ वटा चोरीका घटना भए । अब सोच्नुस्– जिल्लामा कति भए होलान् । अब सोच्दै हुनुहुन्छ होला– कसरी सुरक्षा अपनाउने त ? सम्पत्ति बिमाले तपाईंलाई सुरक्षित राख्छ । सम्पत्ति बिमाले आवासीय र व्यावसायिक सम्पत्तिलाई प्राकृतिक प्रकोप, चोरी वा दुर्घटनाबाट हुने क्षतिबाट सुरक्षा दिन्छ। (स्रोत ः बीआईपीएडी डट् जीओभी डट् एनपी)

नेपाल कृषिप्रधान देश हो । देश विकासको लागि कृषि क्षेत्रको विकास गर्नु अति आवश्यक हुन्छ । किसानलाई लक्षित गरी ल्याइएको कृषि बिमाले धेरै किसानलाई सुरक्षित राखेको छ । साना र ठूला दुवै कृषकहरुको कृषि व्यवसायमा सम्भावित जोखिमबाट हुनसक्ने क्षतिको रक्षाका लागि कृषि बिमा गराउनुपर्दछ । कृषि बिमाअन्तर्गत बाली बिमा, गाईवस्तु बिमा पर्दछन् । बाली बिमाले प्राकृतिक प्रकोप वा रोगहरुका कारण बाली नष्ट हुँदा किसानलाई क्षतिपूर्ति दिइन्छ भने गाईवस्तु बिमाले पशु चौपायामा लाग्ने रोग, दुर्घटना वा चोरीजस्ता जोखिमहरुबाट हुने क्षतिबाट सुरक्षित राख्छ ।

कोभिडपछिको समय हेर्ने हो भने अर्थतन्त्र केही लयमा फर्किएको छ । व्यापारीहरुले केही राहतको सास फेरेका छन् । गत आर्थिक वर्ष २०८१-८२ मा १५ खर्ब ९२ अर्बको सामान आयात भयो भने १ खर्ब ५२ अर्बको निर्यात भयो । यसरी ढुवानी गर्दा सामान हराउने जोखिम धेरै हुन्छ । यसबाट बच्न मरिन कार्गो बिमा गर्न आवश्यक छ । यसले आर्थिक जोखिमहरु कम गर्दै व्यापारलाई निरन्तरता दिन मद्दत गर्दछ ।

भनिन्छ नि, जहाँ समस्या छ त्यहाँ समाधान पनि हुन्छ । यी माथि उल्लेख गरिएका सबै समस्याबाट तपाईं मुक्त हुन चाहनुहुन्छ भने बिमा गर्नुहोस् अनि सुरक्षित जीवन बाँच्नुहोस् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस