काठमाडौं, ३१ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको अवसरमा एक भिडियो सन्देश जारी गर्नुभएको छ । नयाँ वर्षलाई नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बनाउन सकिने विश्वास आफूले लिएको बताउनुभएको छ । उहाँले नेपाल सिंगार्न र विकासको बिगुल फुक्न कसरी लाग्ने र लगाउने, स्वदेश फर्क स्वदेश नै स्वर्ग भन्ने अभियान चलाउनु पर्ने आजको आवश्यकता भएको बताउनुभयो । पूर्वराजा शाहले नयाँ वर्षमा दिनुभएको शुभकामना सन्देशको पूर्ण विवरण यसप्रकार छः प्रिय आत्मीय दाजुभाइ दिदीबहिनीहरू हामी नेपालीहरूको घर आँगनमा नयाँ वर्ष २०८२ आइपुगेको छ । नयाँ घाम, नयाँ ज्योति, नयाँ उत्साह लिएर आएको नयाँ वर्षको उपलक्ष्यमा देश तथा विदेशमा रहे बसेका सम्पूर्ण नेपालीहरूको सुख र शान्तिको मंगलमय शुभकामना ! हरेक नयाँ वर्ष नूतन आशा र विश्वास बोकेर आउने तर वर्षको बिदाईमा एउटा घनघोर निराशाका बीच हुने गरेको धेरै साल भयो । समाजका विभिन्न दल, वर्ग र जन समुदायले आफ्नो धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो । तर त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनु पर्दछ । केही दिन अघि जन प्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जस प्रकारको मानवीय एवं भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अत्यन्तै दुख लाग्यो । नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो–नराम्रो, जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ । नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरूकता पैदा भएको छ, त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं । वास्तवमा नेपाली जनतामा रहेको देश भक्तिपूर्ण भावना विश्वमै अनुकरणीय र अनुशरणीय छ । देशलाई विद्यमान जटिलताबाट मुक्त गराई शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरूकता जुन पैदा भएको छ, नयाँ वर्ष २०८२ मा नेपाली जनताको चाहना अनुसारको परिणाम हासिल हुने विश्वास थपिएको छ । मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पुर्याउदै आएको विद्धितै छ । राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रहि आएको छ । वर्तमानमा बदलिंदो जन चाहनाको पनि कदर गरी राज्य शक्तिको स्रोत जनता नै हुन् भन्ने मन्जुरी सदैव स्थापित हुनु पर्दछ । राष्ट्र निर्माता श्री ५ बडा महाराजधिराजको दिव्य उपदेशलाई नै अबको राज्य सत्ताको मूलमन्त्र सोच्नुमा के होला ? सन्तुलित कुटनैतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वी पथको मूल सार हो । यही नै राजनीतिको मूलधार हुनुपर्ने हो । विश्वको बदलिदो परिस्थितिलाई मनन गर्दै विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका आधारहरूलाई चुनौतीको रूपमा लिदै चरम आर्थिक मन्दी भोग्नु परिहेको अहिलेको सन्दर्भमा नेपाल जस्ता विकासोन्मुख देशले आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुनदृष्टि लगाउनुपर्ने समय आएको छ । स्वदेशी स्रोत, साधनको प्रयोगले स्वदेशमै उत्पादन गरि स्वदेशमै खपत गर्दै आन्तरिक अर्थतन्त्रको चक्र भित्रबाटै मुलुकको समग्र अर्थतन्त्र आत्मनिर्भर र चलायमान गराउनु पर्ने विश्व परिवेश निर्माण हुदैछ भन्ने संकेतहरू देखा परिरहेका छन् । विश्वकै उत्कृष्ट यो भूमिमा बाच्न समेत गा-हो हुने स्थिति पैदा भएपछि बढ्दो युवा पलायनलाई रोकी युवा शक्तिको श्रम र सिपलाई स्वदेशमै उच्च उपयोग गर्नुपर्दछ। युवा स्वरोजगारको निम्ति अवसरहरूको खोजी गरि नेपालमै आय आर्जन गर्न सक्ने वातावरण तयार गर्नुपर्ने आजको पहिलो आवश्यकता बनेको छ। सबै नेपालीको तन, मन र ध्यान त्यसैमा लगाउनु परेको छ। विश्वभरि छरिरहेका नेपालीहरू एकताका सुत्रमा बाधिन अब ढिला गर्नु हुदैन । आफ्ना ज्ञान सीप र सामथ्र्य मात्र होइन त्यहाँ आर्जेको पुजी स्रोत र साधन समेत नेपालमै लगाउँनु पर्दछ भन्ने भावना सबैमा जागृत गराउनु परेको छ । प्रकृतिले दिएको स्वर्ग जस्तै सुन्दर हिमवतखण्ड नेपाल सिंगार्न र विकासको बिगुल फुक्न कसरी लाग्ने र लगाउने, स्वदेश फर्क स्वदेश नै स्वर्ग भन्ने अभियान चलाउनु पर्ने आजको आवश्यकता भएको छ । जनभावना र चाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नुपर्ने तथ्य स्पष्ट देखिन्छ। शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीहरूमा आमूल परिवर्तन र सुधार गरी यिनको आधुनिकरण अनिवार्य भैकेको छ । युग प्रविधिको हो, सावधानीपूर्वक उपयोग गर्न सकेमा राष्ट्रको योगदानमा ठूलो टेवा पुग्न सक्नेछ । सुशासन र भ्रष्टाचार मुक्त प्रशासन मूल नारा हुनु पर्दछ । हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौ । त्यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासहरूमा ऐक्यबद्धता रहनेछ । मुलुकको गिर्दाे अर्थ व्यवस्था, रूग्ण हुदै गएको औद्योगिक उत्पादन, बढ्दो राष्ट्रिय ऋण र बेरोजगारी रक्षात्मक बन्दै गएको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्म, संस्कृति तथा जनस्तरमा बढेको निराशा, असन्तुष्टि हाम्रो चिन्ताको मूल विषय हो । नागरिक पलायन सँगै पूँजी पलायन, भ्रष्टाचार र बेथिति देशले थाम्नै नसक्ने स्तरमा झाँगिएको छ । यो स्थितिमा नयाँ वर्षलाई उपलब्धिमुलक बनाउनु हामी सबै नेपालीको सामुहिक र एकताबद्ध प्रयास अपरिहार्य भएको छ । नेपाली–नेपाली बीच द्वन्द नहोस्, परस्पर अविश्वास र हिंसाको दुखद मनःस्थिति नबनोस्, देशवासीहरू कुनै पनि नाम र निहुँमा ध्रुवीकृत नबनुन भन्ने तर्फ हामी सदैव सचेत र संवेदनशील छौ । नेपालीको एकतामा नै नेपालको भविष्य निहित रहेको यथार्थलाई हामीले आत्मसाथ गरेका छौ । सबैले यही वास्तविकतालाई आत्मबोध गर्नु पर्दछ भन्ने ठान्दछौ । हाम्रा आहवान हामी कसैको निजी स्वार्थ पूर्तिका निमित्त होइन कुनै खालको सैद्धान्तिकवाद वा विचारको होइन, समग्र राष्ट्रको स्वाधीनता, समग्र जनताको सम्प्रभुता तथा नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको निम्ति हो । आफ्नै प्रकारको अग्रणी राष्ट्र हामीले नै बनाउने हो । अनि आफ्नो स्वतह र अस्तिŒव हामी आफैले उठाउने हो । संसार धेरै अघि बढिसक्यो तर हामी यो वा त्यो वादको चक्रब्यूहमा फसेका छौ । नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ । हरेक समस्याको समाधान, संवाद, सहमति, समन्वय र सहकार्यबाट हुन सक्छ । आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्छ र बनाउन सकिन्छ भन्ने विश्वास हामीले लिएका छौ । नयाँ वर्षले नयाँ आशा, उमङ्ग र उत्साह ल्याओस्, अनि नेपालीको सुनौलो भविष्यको सुनिश्चितता होस् । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल !