इटहरी, ३० चैत । राप्रपा कोशी प्रदेश समितिले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणाको निशर्त रिहाइको माग गर्दै संवैधानिक राजसंस्था, हिन्दु अधिराज्य पुनस्र्थापनाको लागि आन्दोलन गर्नुपर्ने निर्णय गरेको छ । बैठकमा जिल्ला अध्यक्षहरूले राप्रपाले राष्ट्रिय झण्डामा निर्णायक आन्दोलन गर्नु पर्ने, गत वर्ष जस्तो एक दिने होइन निरन्तरको आन्दोलन गर्नु पर्ने, सबै राष्ट्रवादी शक्तिहरूसँग एक ठाउँ उभिएर आन्दोलन अघि बढाउनु पर्ने मत राखेका थिए । बैठकमा उपाध्यक्ष र महामन्त्री थुनामा रहँदा समेत केन्द्रीय नेतृत्वले सडक तताउन नसकेको भन्दै पार्टी केन्द्रको आलोचना भएको थियो । सहभागी एक नेताका अनुसार, राष्ट्रिय झण्डामा आन्दोलन गर्नु पर्ने माग र सुझाव वैठकमा पटक–पटक उठेको बताए । यस पटकको काठमाडौं केन्द्रीत आन्दोलनमा पार्टीले पूर्ण तयारी गर्नु पर्ने, अध्यक्ष राजेन्द्र लिङदेन लगायत केन्द्रीय नेतृत्वले खुट्टा कमाउन नहुने विचार जिल्ला अध्यक्षहरूले प्रस्तुत गरेका थिए । कहीं कतैबाट राजसंस्था पुनस्र्थापनाको आन्दोलन कमजोर बनाउने, आन्दोलन तुहाउने गतिविधि र अभिव्यक्ति दिन नहुने अध्यक्षहरूले शुक्रवार इटहरीमा सम्पन्न राप्रपा कोशी प्रदेशको बैठकमा स्पष्ट धारणा राखिएको थियो । घाइते चोटपटक, आवत जावत र आवास लगायतका सबै व्यवस्था गरेर पार्टीले आहवान गरे जिल्ला जिल्लाका कार्यकर्ता, समर्थकहरू सबै आन्दोलनमा सहभागी हुन तयार रहेको जिल्ला अध्यक्षहरूले जानकारी गराएका छन् ।















