काठमाडौं, २६ चैत/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनरस्थापना र हिन्दू अधिराज्यका लागि विद्रोहको बाटो हिंड्न पनि तयार रहेको चेतावनी दिएका छन् । राप्रपाले मंगलवार काठमाडौंस्थित बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो चेतावनी दिएका हुन् । उनले हामी शान्ति चाहन्छौं । शान्तिपूर्वक ढंगबाट आफ्नो मुद्दालाई स्थापित गर्न चाहन्छौं । तर सरकारले राप्रपाले विद्रोह गरोस् भनेर चाहन्छ भने हामी त्यो बाटो हिंड्न पनि तयार छौं भने । अध्यक्ष लिङदेनले माओवादी जनयुद्धको स्मरण गर्दै सरकारलाई त्यस खालका द्वन्द्व स्वीकार हो भनेर प्रश्न पनि गरे । माओवादीको जनयुद्ध तपाईंहरू सबैलाई थाहा छ। एउटा भरूवा बन्दुक बोकेर शुरू गरेको माओवादीले कांग्रेस, एमालेलाई के गरेको थियो ? स्मरण गर्न भने । उनले तीनकुनेको हिंसा राज्यले नै भड्काएको आरोप लगाउँदै त्यसको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख दीपक थापाले लिनुपर्ने बताए । अध्यक्ष लिङदेनले नेपाल प्रहरी प्रमुखलाई एमालेको भातृसंस्था युवा संघको सहअध्यक्ष रहेको आरोप पनि लगाए । तीनकुनेमा हिंसा भड्काउन गृहमन्त्रीले आदेश दिए होलान, प्रहरी चले होलान् भनेको त अहिलेको प्रहरी प्रमुख त युवा संघको सहअध्यक्ष पो रहेछन् भन्दै अध्यक्ष लिङ्देनले प्रहरीहरूलाई प्रहरी भएर बस्न सुझाव पनि दिए । प्रहरीलाई भन्न चाहन्छौं, प्रहरी भएर बस्नुस्, राजनीति दलका कार्यकर्ता बन्ने कुचेष्टा नगर्नुस् भनी अध्यक्ष लिङदेनले आग्रह गरे । सभामा राप्रपाका युवा नेता ज्ञानेन्द्र शाहीले माओवादीले गरेको खबौंको भौतिक क्षतिको भरपाई प्रचण्डको सम्पत्तिबाट असुल्नुपर्ने बताए । प्रचण्डले आफ्नो परिवारलाई पदमा पुर्याउन १५ खर्बको भौतिक क्षति राज्यले व्यहोरेको दाबी पनि गरे । नेता शाहीले माओवादीले गरेको १० वर्षको युद्धमा देशको खर्बौ भौतिक सम्पत्ति ध्वस्त पारेका छन् । त्यसको ब्याजसहित प्रचण्डको सम्पत्तिबाट असुल्नुपर्छ भन्दै के परिवर्तन भयो ? प्रचण्डकी बुहारी मन्त्री, छोरी मेयर, भाइ, ज्वाइँ, छोरो, नाति सबैलाई पदमा पुर्याउन यो देशले खर्बौको भौतिक क्षति भोगेको स्मरण गराउँदै ती सबै हिसाब माओवादीले तिर्नुपर्छ भने । शाहीले देशका ११०० ठूला–साना उद्योग माओवादीले बन्द गराएको तथा एक लाखभन्दा बढी घरेलु उद्योग सखाप पारेको आरोप लगाए । लाखौं नेपाली जनतालाई बेरोजगार बनाएर बेल्चा हाल्न विदेश पठाइएको पनि आरोप लगाए । सभामा राप्रपाका सांसद दिपक बहादुर सिंहले सम्बोधन गर्दै राप्रपाका नेता धवल शम्शेर जबरा र रविन्द्र मिश्रलाई राज्यले पक्राउ गरेर निरंकुशता प्रदर्शन गरेको आरोप लगाए ।