-जनउत्तरदायी पत्रिका-

२०८२ बैशाख १४. आईतवार

क्षयरोग मुक्त वीरगंज घोषणा गर्न महानगरको अभियान शुरु

वीरगंज, २२ चैत । वीरगंज महानगरपालिकाले सन् २०३५ सम्म महानगरलाई क्षयरोग मुक्त घोषणा गर्ने लक्ष्य लिंदै आजबाट अभियान शुरू गरेको छ । आगामी ५ वर्षभित्र क्षयरोगीको संख्या अन्त्य गर्ने र १० वर्षभित्र क्षयरोग मुक्तको घोषणा गर्ने गरी महानगरले अभियान शुरु गरेको हो । महानगरभित्र क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गर्न घरघरमा पुगेर निःशुल्क खकार जाँच स्क्रिनिङ संचालन गर्ने र त्यसका लागि स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी थालेको छ । क्षयरोगमुक्त वीरगंज बनाउने र क्षयरोगको निदान उपचारमा लाग्ने आर्थिक व्ययभारलाई शून्यमा झार्ने लक्ष्यका साथ अभियान अगाडी बढाइएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले बताउनु भयो । अभियान स्वरूप महानगरले शुक्रवार क्षयरोग मुक्त पालिकाको स्थापनाका लागि समिति गठन गर्ने काम सकेको छ । पालिका स्तरमा महानगर प्रमुखको संयोजकत्वमा समिति रहने र वडामा सम्बन्धीत वडाको अध्यक्ष संयोजक रहने गरी समिति गठनको प्रारम्भिक शुरूवात गरिएको प्रमुख प्रशासकीय अधिकृत कर्णले जानकारी दिनुभयो । क्षयरोग उन्मुलनका लागि सुक्ष्म रूपमा गाउँँ, टोल र घरसम्मै पुगेर रोग पहिचान गर्दै त्यसलाई उपचारको दायरामा ल्याउनु चुनौती भए पनि सबैको साथ र सहयोगबाट लक्ष्य पूरा हुने विश्वास पनि लिनुभयो । कार्यक्रममा वडा नं. २६ का वडा अध्यक्ष शम्भु मिश्रले समाजमा क्षयरोगीलाई हेलाका दृष्टिले हेर्ने गरिएकाले रोग लुकाएर राख्दा फैलन पुगेको भन्दै उहाँले रोग पहिचान गरी उपचारसम्ममा ल्याउन अब सबैको सक्रियता रहनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा ३२ वटै वडाका वडाअध्यक्ष, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागीता रहेको थियो । वडा अध्यक्षहरूले अब वडा तहमा यसको पहिचान र निदानका लागि समिति गठन गरेर घरघरमै पुग्ने संयन्त्र खडा गर्ने छन् । सरकारले सन् २०३५ सम्म क्षयरोगको महामारी समाप्त गर्ने लक्ष्य राखेको छ । क्षयरोगका बिरामीमध्ये ७२ प्रतिशत फोक्सोका र २८ प्रतिशत अन्य अंगका बिरामी हुन्छन। अन्य अंगमा फोक्सोको पानी, हडडी र मस्तिष्कमा पनि क्षयरोग फैलन सक्दछ । क्षयरोगको प्रमुख लक्षणहरूमा २ हप्ताभन्दा बढी समय खोकी लाग्नु, राति ज्वरो आउनु, तौल घट्नु र खानामा रूचि कम हुनु समावेश छन् । धुमपान, सुर्तीजन्य पदार्थको सेवन, मधुमेह, मादकपदार्थको सेवन, एचआइभी सङ्क्रमण र कमजोर रोग प्रतिरोधात्मक क्षमतासहितका व्यक्तिहरूलाई क्षयरोगको उच्च जोखिम हुन्छ । महानगरले छिटो र प्रभावकारी रूपमा रोग पहिचान गर्न ३२ वटै वडाका स्वास्थ्य केन्द्र, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरूको परिचालन गर्ने तयारी गरेको छ। साथै, रोगी पत्ता लगाउँन मेसिन जडान गरेर काम शुरू गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस