वीरगंज, २० चैत । बारा जिल्लाको परवानीपुर गाउँपालिकामा बुधवारदेखि दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता शुरू भएको छ । वडा नं १ बुनियाद क्रिकेट ग्राउण्डमा शुरू भएको प्रतियोगितामा वडा नं ३ लिपनी र वडा ४ चैनपुर टोलले विजयी शुरूवात गरेका छन् । वडा नं ३ ले वडा नं १ लाई हराएको छ भने वडा नं ४ चैनपुरले वडा नं ५ बहुअरी टोललाई हराएर विजयी शुरूवात गरेका छन् । प्रतियोगिताको उदघाटन मधेश प्रदेशका खेलकुद मन्त्री प्रमोद जैसवालले गरेका थिए । उनले यस प्रदेशका युवा खेलाडीहरूको लागि प्रदेश सरकारले विशेष योजना बनाएर काम गरिरहेको बताए । उनले अब हरेक वडा देखि प्रदेशसम्म खेलाडीहरूप्रति प्रदेश सरकारको निगरानी रहने बताए । साथै खेलाडीहरूको सेवा सुविधामा पनि प्रदेश सरकार गम्भीर रूपमा लागिपरेको बताए । गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारले गरेका थिए । कार्यक्रममा मधेश प्रदेश सदस्य देव नारायण चौधरीलगायतको सहभागिता थियो ।