-जनउत्तरदायी पत्रिका-

२०८२ बैशाख १४. आईतवार

राष्ट्र बचाउन राजाको आह्वान

काठमाडौं, ७ फागुन ।
प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले एक भिडिओ सन्देश जारी गर्नुहुँदै देशको वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

नेपालको उन्नतिका लागि आफूहरूले के त्याग गर्नुपर्ने हो त्यसका लागि तयार रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्छ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतिका लागि हामीबाट अरू के–के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ’ । ‘राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आहवान गर्छाैं ।’

पूर्वराजा शाहले देशका लागि आफ्नो समर्पण र निष्ठा सदैव रहने बताउनुभयो । राष्ट्रको हितका लागि आफूले त्याग गरेको भन्दै उनले त्यागलाई कमजोरी नसम्झिन आग्रह गर्दै उहाँले भन्नुभयो– ‘राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौँ । हामीले जनताको भलो होस् भनेर आफ्नो ओहदा र सुखसुविधालाई पनि त्याग गरेका हौँ । त्यागले कसैको कद सानो हुने होइन । त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नुहुँदैन । कतै कुनै पन र पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो । हाम्रो त्यागको अर्थ र आशय पनि त्यही नै हो ।’

पूर्वराजा शाहले प्रजातन्त्र आशा जगाउने प्रणाली रहेको भन्दै तीन दशकयताको स्थिति यस्तो नरहेको उल्लेख गर्नुभयो । व्यवस्था बदलियो भन्नेहरूले अवस्था राम्ररी बदल्न नसक्नु दुःखद कुरा रहेको बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस