-जनउत्तरदायी पत्रिका-

२०८२ बैशाख १४. आईतवार

घर लिलामीसम्बन्धी विवादः सहमतिमा टुंगियो

वीरगंज, ८ माघ ।
वीरगंज महानगरपालिका वडा नम्बर ११ मा घर लिलामीको विवादको मंगलवार अन्त्य भएको छ ।
पीडित बबिता सर्राफले घर लिलामी सकार गर्ने व्यक्तिलाई आज सरोकारवालाको रोहबरमा सांचो हस्तान्तरण गरेकी छन् ।
रवि वर्णवाल र कन्हैयालाल झाको पहलमा दुवै पक्षबीच सहमति गराई सर्राफले सांचो हस्तान्तरण गरेकी थिइन् ।
२०८१ मंसीर २९ गते वीरगंज महानगरपालिका वडा नम्बर ११ रानीघाटकी बबिता सर्राफ र दुर्ई बालिकाले बैंकले आफनो घर लिलामी गरेको भन्दै आत्मदाह गर्न खोजेकी थिइन् । बबिताका श्रीमान् राजु साह सोनारले सुन पसल चलाउन भनेर व्यवसाय कर्जाका रूपमा २०७७ सालमा लुम्बिनी विकास बैंकको शाखा कार्यालय पोखरियाबाट ३७ लाख रुपियाँँ ऋण लिएका थिए । राजुको नाममा रहेको साविकको वडा नम्बर १४ मा १० धुरभन्दा बढी जग्गामा रहेको डेढ तले घर र साविकको वडा नम्बर ५ मा रहेको ४ कठ्ठा खेत धितो राखेर १६ प्रतिशत ब्याजदरमा व्यवसाय कर्जा लिएका थिए ।
ऋण लिने विषयमा सर्राफ दम्पतीबीच विवाद भएको र दुर्ई वर्षअघि राजु घर छोडेर सम्पर्कविहीन भएका थिए ।
बबिताको शिक्षण पेशाको कमाइबाट दुर्ई छोरीलाई पढाउन र घरखर्च टार्न जेनतेन पुग्दैनथ्यो। उनले ऋण तिर्न सक्ने कुरै थिएन। लामो समय ऋण नतिरेपछि धितोमा राखिएको घर र जग्गा लिलामीको प्रक्रिया ब्यांकले अगाडि बढायो ।
घरजग्गा अरूको नाममा पास भएको थाहा पाएपछि मंसीर २८ गते वीरगंज महानगरपालिकाको कार्यालय गइन। उनी नभएको वेला वडाका प्रतिनिधि सहित लिलामी सकार गरिएको व्यक्ति घरमा गएर मुचुल्का उठाई ताल्चा लगाइदिए। त्यो दिन दुर्ई छोरी सहित नजीकैको माइती गएर बसिन। भोलिपल्ट ताल्चा फुटाउने गरी बबिता घरमा पुगिन।
लुम्बिनी विकास बैंकले घर लिलाम गरेपछि आत्मदाह गर्ने भनेर साथमा पेट्रोल लिएर आत्मदाहको प्रयास गर्दा स्थानीय र प्रहरीले रोकेर बचाएको थियो ।
पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ बस्ने (साविक भौराटार–६) शोभादेवी कानुले घरजग्गा बैंकबाट लिलामी सकार गरेको थियो । ५२ लाख मूल्य बोलकबोल गर्ने कानुलाई उक्त घरजग्गा दिने स्वीकृति बैंकले दिएको थियो ।
करोडभन्दा बढी पर्ने घरजग्गाको न्यून मूल्यांकन गरेर बैंकले लिलाम गरेपछि विवाद बढेको थियो ।
उता लिलामी सकार गर्ने शोभादेवी कानुका दाइ रामराजप्रसाद साहका अनुसार बैंकको मूल्यांकन अनुसार लिलामीको घरजग्गा सकारेको बताउँछन । घर खाली गराइदिनू भनेर पटक पटक आग्रह गरे पछि वडाको सहयोगमा कानूनी रीतबाटै खाली गराएको उनको भनाइ छ । “कानूनतः घरजग्गा हाम्रो भएपछि वडामा भएको छलफलमा घर खाली गराइदिन हामीले आग्रह गर्दा उहाँ (बबिता)ले छठपछि गरिदिन्छु भनेर मौखिक प्रतिबद्धता जनाउनुभएको थियो, तर खाली भएन,” साह भन्छन् ।
आत्मदाह प्रयासको घटनापछि बबिता दुर्ई छोरी सहित लिलाम भइसकेको घरमै बसिरहेकी थिइन् ।  शोभादेवी कानुले कानूनी रूपमा घरजग्गा आफ्नो भएको र घर खाली गराउनुपर्ने भन्दै राजु साह सोनारलाई विपक्षी बनाएर उच्च अदालतमा रिट दायर गरेकी थिइन। जसमा अदालतले पुस २ गते विपक्षीको नाममा अन्तरिम आदेश जारी गर्दै सो घरमा अनधिकृत रूपमा प्रवेश नगर्न, भोगचलनमा बाधा व्यवधान नगर्न र घरमा ताल्चा समेत नलगाउन भनेको थियो ।
यद्यपि बबिता आफ्नो घरजग्गाको सही मूल्यांकन नभएसम्म घर नछाड्ने अडानमा थिइन् । आज दुवै पक्षबीच सहमतिपछि बबिताले उक्त घरको साँचो घरधनीलाई हस्तान्तरण गरेकी हुन् ।

 

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस