-जनउत्तरदायी पत्रिका-

२०८२ बैशाख १४. आईतवार

गढीमाई मन्दिर तोडफोड गर्नेलाई कारबाईको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

वीरगंज, ७ माघ । बारा जिल्लाको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा भएको तोडफोड र उद्दण्ड घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै राष्ट्रिय समता पार्टी नेपालले दोषीहरूमाथि कारबाईको माग गर्दै गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाएका छन् । माघ ३ गते बिहीवार राति करिब १० बजे अराजक समूहले मन्दिर परिसरमा प्रवेश गरी भाकल स्वरूप छाडिएका परेवाहरू चोर्ने प्रयास गर्दा नगरप्रहरीसँग झडप भएको र सो क्रममा हातपात भएको थियो । अर्काे दिन शुक्रवार बिहान ती समूहहरूले सुनियोजित रूपमा मन्दिर परिसरभित्र दानपेटिका र पंखाहरू तोडफोड गरेको घटनाका दृश्यहरू सीसीटीभी फुटेजमा देखिएको पार्टीले जनाएको छ । पार्टीका राष्ट्रिय अध्यक्ष विजय प्रकाश निषादको नेतृत्वमा महासचिव डा. अभिषेक तिवारी र केन्द्रीय कार्यकारिणी समिति सदस्य छत्र बहादुर श्रेष्ठ सहितको टोलीले संघीय मन्त्री निवास, ललितपुरमा पुगी गृहमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा अपराधीहरूको पहिचान गरी कानुनी राज्यको परिपालन गराउन कडा कारबाईको माग गरिएको छ । धार्मिक तथा सांस्कृतिक सम्पदाको सुरक्षा गर्न सरकारलाई आग्रह गर्दै गढीमाई मन्दिरमा भएको यो घटना धार्मिक तथा सांस्कृतिक महत्वका सम्पदाप्रति गरिएको आक्रमणको रूपमा लिइएको छ । यसले कानुनी राज्यको उपहास गरेको भन्दै पार्टीले यथाशीघ्र दोषीलाई कारबाई गर्न जोडदार माग गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस